नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित निजी क्षेत्र निरन्तर क्रियाशील रहेको बताउनुभएको छ।
नवलपुरको गैँडाकोटमा आजदेखि सुरु भएको चौथो गैँडाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई कम गर्न निजी क्षेत्रले पहल गरिरहेको उल्लेख गर्नुभयो।
“हाम्रो मुख्य लक्ष्य यहीँ रोजगारी सिर्जना गरेर युवालाई विदेश जानुपर्ने बाध्यताबाट जोगाउनु हो,” उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी व्यक्तिगत लाभका लागि मात्र होइन, रोजगारी सिर्जना, कर भुक्तानी र राष्ट्र निर्माणमा योगदान पुर्याइरहेका छन्।”
बूढा बाआमाको स्याहार–सुसार छोडेर विदेश जानुपर्ने अवस्थालाई न्यूनिकरण गर्न आफूहरू सक्रिय रहेको उल्लेख गर्दै उहाँले युवालाई स्वदेशमै रोक्न राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र नीतिमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावका कारण त्यसको लाभ लिन नसकिएको बताए। “देवघाट, मुक्तिनाथ, लुम्बिनी, सगरमाथा जस्ता धार्मिक र पर्यटकीय गन्तव्यहरू हाम्रो पहिचान हुन्, यिनको सही उपयोग गर्न सके रोजगारी र आर्थिक समृद्धि सम्भव छ,” उहाँको भनाइ थियो।
उहाँले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न महासङ्घले १० अर्ब रुपैयाँ बराबरको लगानी कम्पनी स्थापना गरेको जानकारी दिनुभयो। “महासङ्घद्वारा प्रवर्द्धित एनडीपी कम्पनीमार्फत लगानी जुटाउन र आन्तरिक पुँजी परिचालनमा सहकार्य गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो।
कार्यक्रममा उद्योगी व्यवसायीहरूले राज्यका नीतिका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको गुनासो गरेका छन्। मुनाल फुड्सका सञ्चालक दीपक भट्टराईले साना तथा मध्यम उद्योगलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने बताए। उद्योग दर्ताको प्रक्रिया जटिल भएकाले युवाहरू निरुत्साहित भई विदेश पलायन हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ।
“उद्योग दर्तालाई सहज र पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजान सके युवाहरू स्वदेशमै रमाएर काम गर्न सक्छन्,” भट्टराईले भन्नुभयो।
महोत्सव मूल समिति संयोजक छवि कँडेलका अनुसार माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० व्यापारिक स्टल रहेका छन्। करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। सुरक्षाका लागि सिसी क्यामेरा सहित चौबीसै घण्टा निगरानीको व्यवस्था गरिएको छ।
आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको निःशुल्क प्रदर्शनीको व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै, स्थानीय पर्यटन प्रवर्द्धनका लागि विभिन्न गोष्ठी तथा सेमिनारहरू पनि आयोजना गरिने उहाँले बताउनुभयो।

