तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र आक्रमणका घटना सुनियोजित रहेको बताएका छन् ।
जाँचबुझ आयोगमा दिएको बयानमा उनले केही स्वार्थ समूहले युवाहरूलाई उक्साएर हिंसात्मक अवस्था सिर्जना गरेको आरोप लगाएका हुन्।
ओलीका अनुसार आन्दोलनलाई ‘हाइज्याक’ गरी घुसपैठ समूहले सुरक्षाकर्मीमाथि आक्रमण, सरकारी संरचनामा आगजनी तथा तोडफोड जस्ता गतिविधि गराएको बताएका छन्। उनले संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता संवेदनशील निकायमा लक्षित आक्रमण हुनु योजनाबद्ध भएको दाबी गरे।
उनले सरकारको प्राथमिकता मानवीय क्षति न्यून गर्ने रहेको उल्लेख गर्दै सेना परिचालन नगर्ने निर्णय सोही कारणले गरिएको बताए। साथै, आन्दोलनपछि सरकारले छानबिन आयोग गठन, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिने निर्णय गरेको जानकारी पनि दिए।
ओलीले आफ्नो राजीनामापछि पनि अवस्था सामान्य नभएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड दिएका छन्।
