चितवनको रामपुरमा मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय को आयोजनामा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलन दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकामाथि केन्द्रित रहने जनाइएको छ।
सम्मेलनअन्तर्गत तीन दिन प्राविधिक सत्र सञ्चालन गरिनेछ भने बाँकी दुई दिन मौरीपालनसम्बन्धी क्षेत्रको अध्ययन भ्रमण तथा अवलोकन गराइने कार्यक्रम रहेको छ।
आधुनिक मौरीपालन अभ्यास, वैज्ञानिक अनुसन्धान र अन्तरराष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको सम्मेलनले मौरी स्वास्थ्य, परागसेचन सेवा, मौरीजन्य उत्पादनको गुणस्तर अभिवृद्धि तथा बजार विस्तारका सम्भावनाबारे व्यावहारिक र नीतिगत बहस अघि बढाउने अपेक्षा गरिएको छ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पुष्कर पालले शिक्षण, अनुसन्धान र प्रसार विश्वविद्यालयका मूल उद्देश्य रहेको उल्लेख गर्दै ती गतिविधिलाई अन्तरराष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार विश्वका करिब ७० प्रतिशत अन्नबालीको परागसेचन मौरीमार्फत हुने गर्दछ भने करिब एकतिहाइ खाद्यान्न उत्पादन मौरीमा निर्भर रहेको छ।
“मौरी असुरक्षित हुनु भनेको अन्न असुरक्षित हुनु हो,” उहाँले भन्नुभयो। जलवायु परिवर्तन, मौसमीय असन्तुलन र तापक्रम वृद्धिका कारण मौरीपालन क्षेत्रमा चुनौती थपिँदै गएको उल्लेख गर्दै उहाँले यस्ता समस्या समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कृषि विभाग का उपमहानिर्देशक राजेन्द्र कोइरालाले यस्ता सम्मेलनले नवीन प्रविधि, अनुसन्धान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने विश्वास व्यक्त गर्दै यसले कृषि विकासमा टेवा पुग्ने धारणा राख्नुभयो।
आयोजक संस्थाका डीन प्राडा अर्जुनकुमार श्रेष्ठले नेपाल मौरीपालनका लागि अत्यन्त उपयुक्त देश भएको उल्लेख गर्दै यहाँ एपिस सेरेना, एपिस मेलिफेरा, एपिस डोर्साटा, एपिस फ्लोरिया र एपिस लेबोरियोसा गरी पाँच प्रजातिका मौरी पाइने जानकारी दिनुभयो। उहाँका अनुसार मौरीपालन क्षेत्रमा रोग तथा कीरा व्यवस्थापन, जलवायु परिवर्तन, परागसेचक जीवको घट्दो सङ्ख्या तथा बजार व्यवस्थापनजस्ता चुनौती विद्यमान छन्।
सम्मेलनमा २० भन्दा बढी देशका करिब २५० राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ता, मौरीपालक तथा नीतिनिर्माताको सहभागिता रहने जनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल मौरीपालक महासङ्घ को सहकार्यमा आयोजना हुने यस सम्मेलनले मौरीपालन क्षेत्र सुदृढ बनाउँदै दिगो कृषि प्रणाली र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
