पुष्पाञ्जली हस्पिटल प्रा.लि.को १७ औँ वार्षिकोत्सवको अवसरमा आज बृहत् रक्तदान कार्यक्रमसहित नव वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने भएको छ।
कार्यक्रम बैशाख २ गते अस्पताल परिसरमै सञ्चालन हुने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवनको प्राविधिक सहयोग तथा ब्लड डोनर्स सोसाईटी चितवनको सहकार्य रहनेछ। कार्यक्रममार्फत आवश्यक रगत संकलन गर्नुका साथै समुदायमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले रक्तदानलाई जीवनदानसँग जोडिएको पुण्य कार्यका रूपमा उल्लेख गर्दै स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ। पछिल्लो समय विभिन्न दुर्घटना, शल्यक्रिया तथा गम्भीर बिरामीका लागि रगतको अभाव हुने समस्या देखिएकाले यस्तो कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। साथै सहभागीबीच नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान गरिनेछ, जसले आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।
यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत अस्पतालले स्वास्थ्य सेवासँगै मानवीय सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
