नेपाल मगर संघ, शाखा पोल्यान्डले आफ्नो स्थापना दिवस र नयाँ वर्ष २०८३ को अवसरमा एक महत्त्वपूर्ण साङ्गठनिक फड्को मारेको छ। शाखाले मातृ संस्था नेपाल मगर संघ केन्द्रीय समितिबाट ‘वैदेशिक शाखा’ को आधिकारिक मान्यता प्राप्त गर्नुका साथै केन्द्रीय कार्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग हस्तान्तरण गरेको छ।
काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पोल्यान्ड शाखाले केन्द्रको प्रशासनिक कार्यलाई आधुनिक र चुस्त बनाउने उद्देश्यले करिब १ लाख १० हजार रुपैयाँ बराबरको अत्याधुनिक कम्प्युटर सेट प्रदान गरेको छ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर र केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा पोल्यान्ड शाखाका सचिव श्री जीवन सिन्जाली मगरले उक्त सामग्री हस्तान्तरण गर्नूभयो।
वैदेशिक शाखाको आधिकारिक प्रमाणपत्र ग्रहण गरेपछि सचिव सिन्जालीले यसलाई संस्थाको इतिहासमा एउटा कोशेढुङ्गाको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो:
“नयाँ वर्षको पहिलो दिनमै एकातिर आधिकारिकताको वैधानिकता पाउनु र अर्कोतिर मातृ संस्थालाई प्रविधिमा जोड्न पाउनु हाम्रा लागि गर्वको विषय हो।
यो कार्यले पोल्याण्डमा रहेका मगरहरूलाई आफ्नो मूळ सस्था सग थप बलियो गरी जोडेको छ।
सहयोग ग्रहण गर्दै केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पोल्यान्ड शाखाको कार्यशैलीको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो:
“पोल्यान्ड शाखाले आफ्नो उत्सवलाई सिर्जनात्मक र संस्थागत हितमा प्रयोग गरेर विश्वभरका अन्य वैदेशिक शाखाहरूका लागि एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। प्रवासमा रहेर पनि आफ्नो मातृ संस्थाको जग बलियो बनाउन देखाएको यो समर्पण अतुलनीय छ।”
कार्यक्रममा मगर संघका अगूवा तथा विशिष्ट व्यक्तित्वहरूले पोल्यान्ड शाखालाई शुभकामना दिनुभएको थियो।
कार्यक्रमका वक्ताहरूले आगामी दिनमा पोल्यान्ड शाखाले पोल्यान्डमा मात्र सीमित नरही समग्र युरोपभरिका मगर संघ-संस्थाहरूबीच समन्वयकारी र ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
नयाँ वर्ष २०८३ को सुरुवातसँगै भएको यो आधिकारिकता प्राप्ति र प्रविधि हस्तान्तरणले नेपाल मगर संघको साङ्गठनिक संरचनालाई थप सुदृढ बनाएको छ। यसले प्रवासमा रहेका नेपाली र मातृ संस्थाबीचको सम्बन्धलाई भावनात्मक मात्र नभई प्रविधिमैत्री र व्यावसायिक समेत बनाएको छ।
