कर्णालीमा इन्धनको भण्डारण नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । कर्णालीमा एक साताका लागि पनि भण्डारण सुविधा छैन ।
इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्था नहुँदा बर्षौदेखि सास्ती हुँदै आएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७र७८ सम्ममा सबै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने ल्क्ष्य रहे पनि जग्गा अभावमा भण्डारणको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
प्रदेशमा दुर्गम भूगोल, कमजोर सडक सञ्जाल र मौसमजन्य अवरोधका कारण आपूर्ति श्रृङ्खला सहज नभएको अवस्थामा भण्डारण पूर्वाधारको अभावले जोखिम थपिएको छ । आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्तर्राष्ट्रिय आपूर्ति अवरोध हुँदा कर्णालीमा इन्धन अभाव चर्किन सक्ने सम्भावना उच्च छ ।
सरकारको योजनाअनुरूप अन्य प्रदेशमा भण्डारण गृह निर्माण भई सञ्चालनमा आइसके पनि कर्णालीमा भने सरकारको पाँच वर्षदेखि सो योजना अलपत्र परेको छ ।
नेपाल आयल निगमका देशभर १० वटा मुख्य डिपो छन् । तीमध्ये निगमको सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय इन्धन भण्डारण डिपो छैन । यसअघि निगमको कर्णाली प्रादेशिक कार्यालयले जग्गा खरिदमा जानुको साटो सरकारकै जग्गा प्रयोग गर्ने विकल्पका साथ नेपाल ट्रस्टको जग्गा उपलब्ध गराउन अनुरोधसमेत गरेको थियो ।
नेपाल ट्रस्टको नाउँमा रहेका ३४ बिघा जग्गा उपलब्ध लगाउन सुर्खेतस्थित प्रादेशिक कार्यालयले निगमलाई पत्राचारसमेत गरेको थियो । आयल निगमसँग वीरेन्द्रनगरमा हाल १८ कठ्ठा जग्गा उपलब्ध छ । कर्णालीलाई ९० दिनसम्म पुग्नेगरी पेट्रोलियम भण्डारण गृह निर्माणका लागि यो जग्गामा सम्भव छैन ।
