नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू प्रतिपक्षमा रहे पनि लोकतन्त्रको मूल मान्यता ‘रुल अफ ल’ लाई केन्द्रमा राखेर विषय उठाइरहेको बताएका छन्।
बागमती प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा बोल्दै उनले कुनै पनि व्यक्ति कानुनभन्दा माथि नहुने स्पष्ट पारे। उनले भने, ‘प्रधानमन्त्री, पार्टी सभापति वा म स्वयं किन नहोस्, राज्यका निकायले अनुसन्धान गर्नुपर्छ भन्छन् र त्यसका आधार छन् भने अनुसन्धानमा सहयोग गर्नु प्रत्येक व्यक्तिको दायित्व हो।’
थापाले भविष्यमा आफूमाथि वा कांग्रेस नेतृत्वमाथि पनि छानबिन आवश्यक ठहरिए पार्टीले अवरोध नगर्ने बताए। ‘भोलि सरकारले गगन थापामाथि केही कैफियत भेटिएको छ, अनुसन्धान गर्नुपर्छ भन्यो भने कांग्रेसले अनुसन्धान गर्न नपाइने भन्दैन,’ उनले भने।
राज्यका निकायले अनुसन्धानका लागि पर्याप्त आधार देखे त्यसमा सहयोग गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो। साथै राज्य पनि कानुनभन्दा माथि हुन नहुने भन्दै अनुसन्धान प्रक्रिया चयनात्मक हुन नहुनेमा उनले जोड दिए।
थापाले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र चयनात्मक भएको टिप्पणी गरे। उक्त प्रतिवेदनले २४ गते भएको घटनालाई पर्याप्त रूपमा सम्बोधन नगरेको भन्दै उनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरे।
कांग्रेसले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै आएको उल्लेख गर्दै उनले भने, ‘म मन्त्री भएको छु, मेरो पनि छानबिन होस्। तर प्रक्रिया कानुनसम्मत, निष्पक्ष र व्यक्तिविशेष लक्षित नभई हुनुपर्छ। गलत तरिकाले आर्जित सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्छ।’
