चितवनको घैलाघारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले वन डढेलोबाट हुने क्षति न्यूनीकरण गर्न सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
समितिले बस्ती तथा वन–जंगलको छेउछाउमा आगो नबाल्न, चुरोट वा बिँडी सेवनपछि आगो सहितको ठुटो जथाभावी नफाल्न अनुरोध गरेको छ। साथै, सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहलाई वनभित्र रहेका पातपतिङ्गर र सोत्तर सफा गरी अग्निरेखा निर्माण गर्न पनि आग्रह गरिएको छ।
वनभोजका लागि सकेसम्म वन क्षेत्र बाहिरका स्थान रोज्न तथा वनभोजपछि आगो पूर्ण रूपमा निभाएर मात्रै फर्किन समितिले अनुरोध गरेको छ। वन क्षेत्रमा आगलागी भएको जानकारी पाएमा उपभोक्ता, वन कर्मचारी र प्रहरी प्रशासनसँग समन्वय गरी तत्काल आगो नियन्त्रणमा लिन पनि आग्रह गरिएको छ।
समितिका अनुसार वनमा आगो लगाउनु कानुनले दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको जनाइएको छ। साथै, डढेलो लाग्न नदिन सबैले सचेत रहन र आगलागी भइहालेमा सामूहिक प्रयासबाट तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ।
समितिले जानीजानी राष्ट्रिय वनमा आगो लगाउने व्यक्तिबाट भएको क्षतिको विगो (रुख–बिरुवाको मूल्य) असुल गर्नुका साथै रु. ६० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै वन संरक्षणमा सबैको सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

