इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि र अभावका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
संघले मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनमा भएको लगातार मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको जनाएको हो । साथै सिमेन्ट, डण्डी, बिटुमिनजस्ता सामग्रीको महँगी र अभावले अधिकांश आयोजना प्रभावित बनेको उल्लेख गरिएको छ।
संघका अनुसार मूल्य समायोजन प्रणाली प्रभावकारी नहुँदा व्यवसायी थप मारमा परेका छन् भने काम गर्ने उपयुक्त समयमा नै आयोजनाहरू अवरुद्ध हुँदा आर्थिक भार बढेको छ। यसले राष्ट्रिय गौरवका आयोजना समेत प्रभावित भएको जनाएको छ।
संघले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्न, सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न र निर्माण आयोजनाको म्याद थप गर्न माग गरेको छ। साथै जिल्ला दररेट समितिको बैठक बोलाई दररेट संशोधन गर्न पनि आग्रह गरिएको छ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले समस्या समाधानका लागि केन्द्रसँग समन्वय गर्ने बताएका छन्।
