दशरथ रंगशालामा थापाथली क्षेत्रका सुकुमवासी तथा भूमिहीन परिवारको ‘स्क्रिनिङ’ कार्य तीव्र रूपमा जारी छ। काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिको संयुक्त टोलीले लगत सङ्कलन गरिरहेको हो।
प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार अपराह्न १:३० बजेसम्म २३ परिवारको विवरण सङ्कलन भइसकेको छ। दर्ता प्रक्रियामा आएका मध्ये चार परिवारलाई तत्कालका लागि राधास्वामी सत्सङ्ग केन्द्र, कीर्तिपुरमा स्थानान्तरण गरिएको छ।
सरकारले वास्तविक सुकुमवासी पहिचान गरी अस्थायी ‘सेल्टर’मा बसोबासको व्यवस्था गरिरहेको जनाएको छ। ती सेल्टरमा खाने–बस्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिएको र त्यसपछि दोस्रो चरणमा जमिन उपलब्ध गराउने प्रक्रिया अघि बढाइने बताइएको छ।
थापाथलीस्थित बागमती नदी किनारमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएपछि प्रभावित परिवारलाई सरसामानसहित रंगशालामा ल्याइएको हो। अझै पनि केही परिवार आफ्नो स्थायी बसोबास नभएको भन्दै सहयोगको अपेक्षामा रंगशाला पुग्ने क्रम जारी छ।
यसबीच, स्वास्थ्य जटिलता न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाबाट चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको टोली परिचालन गरिएको छ।
उता, थापाथली क्षेत्रको सुकुमवासी बस्ती हटाउने कार्य सम्पन्न भइसकेको छ भने सुरक्षाकर्मीको टोलीले सिनामंगल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध संरचना हटाउने अभियान पनि अगाडि बढाएको छ। प्रभावित परिवारले सरकारी निर्देशनअनुसार आफ्ना घरटहरा भत्काउँदै सरसामान सुरक्षित स्थानमा सारिरहेका छन्।
