आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्।
ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत रहेका पोखरेल गृह जिल्ला भ्रमणका क्रममा खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्राध्यापकहरूले स्वागत गर्न नआएको विषयमा आक्रोशित भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।
उक्त भिडियो भाइरल भएसँगै उनको अभिव्यक्तिमाथि विभिन्न तहबाट आलोचना हुन थालेको थियो। यसैक्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भनाइप्रति स्पष्टीकरण दिएका छन्।
विज्ञप्तिमा उनले सामाजिक सञ्जालमा प्रसारित भिडियो पूर्ण रूपमा यथार्थ नभएको दाबी गर्दै सन्दर्भ काटछाँट गरेर केही क्षणका दृश्य मात्रै प्रस्तुत गरिएको बताएका छन्। “यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,” उनले उल्लेख गरेका छन्।
उनले थपेका छन्, “कहिलेकाहीँ सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन्। त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु।”
पोखरेलले आफ्नो अभिव्यक्तिका कारण उत्पन्न असहजता र विवादप्रति दुःख व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवार भएर प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।
