नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुम्बासी हटाउने काम हतारमा गरेको भन्दै आलोचना गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दुःख पुग्नेगरी कदम चालिएको बताएका हुन् ।
उनले भने, ‘छानविन गरेर वास्तविक सुकुम्बासीलाई दुःख नहुनेगरि काम गरिनुपर्थ्यो । तर सरकारले सुकुम्बासी हटाउने काम एकदमै हतारमा गरेको छ । जोरजबरजस्ती र राज्यले पेलेजस्तो देखियो ।’
पौडेलले राज्य सबै नागरिकप्रति सहयोगी हुनुपर्ने उल्लेख गर्दै पहिले सुकुम्बासी समस्याबारे पर्याप्त गृहकार्य भएको पनि स्मरण गराए ।
उनले त्यस आधारमा वास्तविक र नक्कली सुकुम्बासी छुट्याउन सकिने अवस्था रहेको तर त्यसलाई बेवास्ता गरिएको आरोप लगाए । उनले भने, ‘राज्य सबैका लागि सहयोगी हुनुपर्छ । पहिले पनि सुकुम्बासीहरुका बारेमा धेरै गृहकार्य भएको थियो ।
पहिले भएको गृहकार्यका आधारमा को वास्तविक सुकुम्बासी हो, को नक्कली सुकुम्बासी हो छुट्याउन सकिने आधारहरु थियो । ठूलो सुकुम्बासी बस्तीभित्र सक्कली वास्तविक सुकुम्बासीहरु समेत थिए । उनीहरुलाई पनि जोरजबरजस्ति डोजर लगाएर निकाल्ने काम भयो ।’