शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम बुद्धको २५७०औँ जन्मजयन्ती आज देशभर श्रद्धा, भक्ति र विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीका अवसरमा भगवान् बुद्धको पूजा, आराधना तथा प्रवचन कार्यक्रम आयोजना गरिन्छ। बुद्धले विश्व शान्ति, अहिंसा र मैत्रीको सन्देश फैलाउँदै मानव समाजमा पुर्याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने परम्परा रहेको छ।
बौद्ध धर्मावलम्बीहरूले आज चैत्य, गुम्बा र विहारहरूमा भेला भई लामा तथा धर्मगुरुहरूको उपस्थितिमा पूजा–अर्चना, ध्यान तथा प्रवचन कार्यक्रम सञ्चालन गरिरहेका छन्। लुम्बिनी, स्वयम्भू र बौद्धनाथलगायत प्रमुख धार्मिक स्थलहरूमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
इतिहासअनुसार इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा जन्मिनुभएका सिद्धार्थ गौतमले मानव जीवनका दुःख देखेर २९ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा निस्कनुभएको थियो। पछि उहाँले बोधि प्राप्त गरी बुद्धत्व हासिल गर्नुभयो र विश्वलाई अहिंसा, करुणा र मध्यम मार्गको शिक्षा दिनुभयो।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै तिथिमा पर्ने भएकाले वैशाख शुक्ल पूर्णिमालाई बौद्ध धर्ममा विशेष महत्वका साथ मनाउने गरिन्छ। यस वर्ष पनि शान्ति, सद्भाव र मानव कल्याणको कामनासहित बुद्ध जयन्ती मनाइएको छ।