सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ।
सहरी विकासमन्त्री सुनिल लम्सालका अनुसार पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण भइसकेकाले अब दोस्रो चरणको काम अघि बढाइएको हो। यसअघि मन्त्रालयमा बसेको संयुक्त बैठकले आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको थियो।
स्थानान्तरण प्रक्रियाअन्तर्गत प्रभावित नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ, जहाँ सूचना सङ्कलन, सुकुम्बासी पहिचान तथा डिजिटल विवरण अभिलेखीकरणका लागि तीन सहायता कक्ष सञ्चालन गरिनेछन्।
मन्त्रालयले आवश्यक सरसामानको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गर्ने जनाएको छ भने आश्रयस्थल नभएका परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन यातायातको व्यवस्था गरिएको छ। साथै स्वास्थ्य सेवा, मानवीय सहायता र मनोपरामर्श सेवासमेत उपलब्ध गराइनेछ।
सङ्कलित विवरणका आधारमा सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरिनेछ। पहिचान नभएका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ भने पहिचान भएका परिवारलाई पुनःस्थापनासम्म आवश्यक सहयोग प्रदान गरिनेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि नै सूचना जारी गर्दै नदी किनारका अतिक्रमित बस्ती आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार बिहान ७ बजेदेखि बस्ती खाली गर्ने कार्य सुरु भएको छ।