चितवन कारागारबाट फरार भएकी एक भारतीय महिला कैदीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन उर्फ सुशीला देवी रहेकी छन्। उनलाई नियन्त्रणमा लिएर पुनः चितवन कारागार ल्याइएको कारागार प्रशासनले जनाएको छ।
कारागार कार्यालय चितवनका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार गत भदौ २५ गते भएको जेनजी प्रदर्शनका क्रममा चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी कारागारबाट फरार भएका थिए। फरारमध्ये हालसम्म ६४० जना सम्पर्कमा आइसकेका छन् भने अझै १०३ जना फरार अवस्थामै रहेका छन्।
फरार कैदीबन्दीमध्ये अधिकांश लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका अभियुक्त रहेको जनाइएको छ। साथै दुर्लभ एकसिङ्गे गैँडा चोरी सिकारीमा संलग्न व्यक्तिसमेत फरार सूचीमा रहेको कारागार प्रशासनले जानकारी दिएको छ।
कारागार कार्यालयले यसअघि असोज २० गतेभित्र सम्पर्कमा आउन फरार कैदीबन्दीलाई सार्वजनिक सूचना जारी गरेको थियो। तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनअनुसार थप कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
यस्तै, फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनबमोजिम कसुरदार ठहर गरी कारबाही गरिने कारागार प्रमुख ढुङ्गानाले बताउनुभयो।
