चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको नेतृत्व पहिलोपटक माडीको हातमा पुगेको छ ।
निकुञ्जको मुख्यालय कसारामा सम्पन्न निर्वाचनबाट अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि शिवजी गायक काउन्सिलको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका गायकले १० मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित नेतृत्व हात पार्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति कसराका लालबहादुर दवाडीले ७ मत प्राप्त गर्दा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका दुमन भण्डारीले २ मत पाउनुभयो ।
पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनलाई यसपटक विशेष चासोका साथ हेरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष सरोकार राख्ने माडी क्षेत्रबाट पहिलोपटक नेतृत्व स्थापित भएको हो, जसलाई स्थानीयले प्रतिनिधित्व र विकासका मुद्दा उठाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती काउन्सिल अन्तर्गत चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा मध्यवर्ती उपभोक्ता समिति आबद्ध छन् । तीमध्ये माडीका तीनवटा समिति समेत समावेश रहेका छन् ।
हाल दुई वटा समितिमा गठन प्रक्रिया बाँकी रहेकाले १९ वटा समितिका अध्यक्षहरूले मात्रै मतदानमा सहभागिता जनाएका थिए । नव निर्वाचित अध्यक्ष गायकले मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार, वन्यजन्तु संरक्षण र स्थानीय विकासलाई सन्तुलित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
