बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री माननीय उत्तम जोशीले आफ्नो पाँच वर्षे कार्यकालमा अघि बढाइएका विकास योजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ ।
भरतपुर महानगरपालिका–११ अन्तर्गत सञ्चालित विभिन्न पूर्वाधार तथा सामाजिक विकासका योजनाको अवलोकन गर्दै उहाँले विकासलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ काम गरिएको बताउनुभयो ।
उहाँले भरतपुर ११ का वडाध्यक्ष कमल बहादुर मल्लसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहित आफ्नो कार्यकालमा परेका बिकास योजनाका बारेमा अनुगमन गर्नुभएको हो ।
पूर्वमन्त्री जोशीले वडा क्षेत्रभित्र निर्माण सम्पन्न तथा सम्पन्नताको अन्तिम चरणमा रहेका सडक, नाला, विद्यालय भवन, विभिन्न जातजातिका निर्माणाधीन सामुदायिक भवन तथा अपांगमैत्री विद्यालय भवनको निरीक्षण गर्नुका साथै नवजागृति पार्कको समेत अवलोकन गर्नुभयो । उहाँले योजनाहरूको गुणस्तर, निर्माण प्रगति तथा स्थानीय समुदायलाई पुग्ने दीर्घकालीन लाभबारे चासो व्यक्त गर्नुभएको थियो ।
उहाँले प्रदेश सरकारको बजेटलाई केवल संरचना निर्माणमा सीमित नराखी सामाजिक रूपान्तरण र समावेशी विकासको आधारका रूपमा प्रयोग गरिएको उल्लेख गर्नुभयो । विशेषगरी अपांगमैत्री विद्यालय भवन निर्माणलाई समावेशी शिक्षाको महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै जोशीले “राज्यका हरेक संरचना सबै नागरिकका लागि पहुँचयोग्य हुनुपर्छ भन्ने सोचका साथ योजना अघि बढाइएको” बताउनुभयो ।
स्थानीयवासीले समेत पूर्वमन्त्री जोशीको कार्यकालमा वडा क्षेत्रमा सडक विस्तार, ढल तथा नाला व्यवस्थापन, शैक्षिक पूर्वाधार र सामुदायिक भवन निर्माणले विकासको अनुभूति गराएको बताएका छन् । वर्षौंदेखि अपेक्षामा रहेका केही योजनाले अहिले पूर्णता पाउने चरणमा पुगेपछि स्थानीयहरू उत्साहित देखिएका छन् ।
पूर्वाधार निर्माणसँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको भन्दै समुदायको पहिचान, संस्कृति संरक्षण तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ ।
पूर्वमन्त्री जोशीका अनुसार ती सबै योजनाका लागि बागमती प्रदेश सरकारमार्फत झण्डै ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । अहिले अधिकांश योजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेका छन् ।
अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले विकासका काम केवल घोषणा गरेर होइन, कार्यान्वयनमार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो । “जनताको आवश्यकता पहिचान गरेर दीर्घकालीन प्रभाव पार्ने योजनामा लगानी गरिएको हो,” उहाँले भन्नुभयो, “आज ती योजनाहरू पूर्णताको चरणमा पुग्दा आत्मसन्तुष्टि मिलेको छ ।”
भरतपुर महानगरपालिका–११ मा पछिल्ला वर्षहरूमा देखिएको पूर्वाधार विकासले स्थानीय जनजीवन सहज बनाउनुका साथै शिक्षादेखि सामाजिक समावेशितासम्म सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
उता भरतपुर ११ का वडाध्यक्ष कमल बहादुर मल्लले पूर्वमन्त्री जोशीकै पहलमा प्राङ्गारीक कम्पोस्ट मल निर्माण गरिएको बताउनुभयो । उहाँले विभिन्न बिकासका योजनाहरु अघि सार्नुभएको जिकिर गर्नुभयो ।
जनता र समाजप्रति उत्तरदायी बन्दै जोशीले गरिव बिपन्न तथा बिकासका दृस्टिकोणले पछाडि परेका क्षेत्रको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँकै पहलमा विभिन्न मठमन्दिर स्वास्थ्य केन्द्रहरु समेत निर्माण भएका छन् ।
