चितवन उद्योग संघ ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उद्योग तथा व्यवसायमैत्री बजेटको माग गर्दै बागमती प्रदेश सरकारसमक्ष बजेट प्रस्ताव पेश गरेको छ ।
हेटौँडास्थित उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा संघका अध्यक्ष मदन घिमिरे को नेतृत्वमा गएको टोलीले औद्योगिक पूर्वाधार विकास, निजी क्षेत्र प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न सुझावसहितको प्रस्ताव बुझाएको हो ।
संघले प्रदेशमा उद्योग तथा व्यवसाय विस्तारका लागि नीतिगत सुधार, उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन, रोजगारी सिर्जना तथा औद्योगिक क्षेत्रको विकासमा केन्द्रित बजेट आवश्यक रहेको उल्लेख गरेको जनाएको छ ।
प्रस्ताव पेश गर्न गएको टोलीमा गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्ष ताराबहादुर कार्की, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल तथा कार्यसमिति सदस्य प्रकाश पौडेल लगायतको सहभागिता रहेको सूचना अधिकृत राजु भट्टले जानकारी दिनुभयो ।
संघले उद्योगी व्यवसायीको सुझावलाई आगामी बजेटमा समेटेर प्रदेशको आर्थिक विकास र निजी क्षेत्रको मनोबल बढाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।
