चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडद्वारा सञ्चालित ‘डेरी मार्ट’मा पछिल्ला दिनमा चिज किन्ने उपभोक्ताको उल्लेख्य भीड बढ्न थालेको छ ।
भरतपुर महानगरपालिका–१०, दूरसञ्चार रोडस्थित डेरी मार्टमा दुध तथा दुग्धजन्य परिकारसँगै चिज, पनिर, दही लगायतका सामग्री बिक्री हुँदै आएको छ ।
देशभर चर्चामा रहेका काठमाण्डाैं महानगरका पूर्व मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा चिज खाइरहेको तस्वीर सार्वजनिक गरेपछि चिजको माग एकाएक बढेको व्यवसायीहरू बताउँछन् ।
सामाजिक सञ्जालको प्रभावसँगै विभिन्न स्थानमा चिज किन्ने उपभोक्ताको भीड बढ्नुका साथै केही ठाउँमा अभावसमेत देखिएको चर्चा छ ।
चितवनमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार पछिल्ला दिनमा डेरी मार्टमा दैनिक हजारभन्दा बढी उपभोक्ता चिज खरिदका लागि आउने गरेका छन् । माग अत्यधिक बढेसँगै उत्पादन व्यवस्थापनमा समेत चुनौती थपिएको उहाँले बताउनुभयो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको डेरी मार्टमा ताजा तथा गुणस्तरीय दुग्धजन्य सामग्री उपलब्ध हुँदै आएको छ ।
फोटो एआईको सहायतामा
