नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ८, ९ र १० गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले ऐतिहासिक मगरात सभ्यता, भाषा, संस्कृति र पहिचान संरक्षणलाई केन्द्रमा राख्दै महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
“मगरात सभ्यता सहितको समृद्ध मगर समाज” भन्ने मूल नारासहित आयोजना हुन लागेको महाधिवेशनले मगर समुदायको अधिकार, पहिचान, भाषा तथा सांस्कृतिक संरक्षणका विषयलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
महाधिवेशन उद्घाटन समारोह जेठ ८ गते बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने आयोजक नेपाल मगर संघ केन्द्रीय समितिले जनाएको छ । कार्यक्रममा देशभरबाट मगर समुदायका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।
संघका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै मगर समुदायको हकहित, सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समृद्ध समाज निर्माणका लागि आगामी कार्यदिशा तय गर्नेछ ।
महाधिवेशन प्रचार–प्रसार समितिले सम्पूर्ण मगर समुदायलाई काठमाडौं उपस्थित भई ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ ।
