चितवनमा दिनानुदिन कानका बिरामीहरु बढिरहेका छन् । अधिकांश मानिसहरुमा कानको समस्या देखा पर्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अमित झाले बताउनुभयो ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै डा. झाले नेपालको कुल १८ प्रतिशत जनसंख्यामा कानको समस्या रहेको बताउनुभएको हो । उहाँले दिनमा ४५ देखि ७० जनासम्म कानका बिरामीहरु उपचारका लागि प्रत्येक अस्पतालमा आउने गरेको बताउनुभयो ।
२०६८ को जनगणना अनुसार अपांगता भएकामध्ये १५ दशमलव ४ प्रतिशतमा श्रवण सम्बन्धी र ११ दशमलव ५ प्रतिशतमा बोली सम्बन्धी समस्या देखिएको तथ्यांकमा उल्लेख छ । कान रोग १८ वर्ष मुनिका १ दशमलव २२ र पुरुषभन्दा महिलामा शून्य दशमलव ९४ प्रतिशत गुणा बढी जोखिम पाइएको छ । डा. झाले एलर्जी, राइनाइटिस, दम, धुम्रपान, मदिरा सेवन, लामो समय अस्पताल भर्ना भएका तथा लामो समय चर्को ध्वनीमा रहेकाहरु यसको जोखिममा पर्ने गरेको बताउनुभयो ।
कानको संक्रमणको समयमै उपचारको पहुँच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी, बढ्दो चर्को ध्वनीका कारण समेत समस्या बढ्दै गएको उहाँको भनाइ छ । बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण गर्न सकिएमा ६० प्रतिशत श्रवण सम्बन्धि समस्या न्यूनीकरण गर्न सकिने डा. अमित झाले बताउनुभयो ।
बारम्बार सामन्य अवस्थामा पनि कान कोट्याईरहने र नुवाउदा अथवा स्विमिङ गर्दा कानमा पानी पस्दा समेत कानको संक्रमण हुने समस्या बढी हुने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अमित झाले जानकारी दिनुभयो । यसैगरी उहाँले कानमा सामान्य समस्या देखिएमा समेत चिकित्सकको सल्लाह बिना घरेलु औषधी तथा अन्य औषधी प्रयोग नगर्न सल्लाह दिनुभयो ।
कान पाक्ने रोगको समयमै उपचार नभएमा मुख बाङ्गो हुने, वाकवाकी लागिरहने, चक्कर आउने, मस्तिष्कमा असर पुगि पक्षघात हुने जस्ता जटिल समस्या देखा पर्ने गरेको डा. झाले बताउनुभयो ।