माडी नगरपालिका एउटा समय थियो जनसंख्याले भरिएको तर बिकास र निकासले नाङ्गिएको समाज बिकासको क्रमसंगै आजसम्म आइपुग्दा एउटा गतिमा बिकास अगाडी बढेको छ ।
निकासको आन्दोलन जारी नै राख्नु पर्ने छ भने उपलब्ध बिकासको उपभोग गर्ने जनसंख्या घटदो क्रममा छ । यो सबैका लागि चिन्ताको विषय हो ।
बाटो-घाटो, यातायात, संचारसंगै उत्पादन र उत्पादन प्रणालीमा सुधार भएको छ भने अझै थप ब्यबस्थित गर्नु पर्ने काम बाकि छ र हुँदैपनि छ ।
सामाजिक रुपान्तरण र नागरिक चेतनामा सुधार भएको छ भने प्रविधिको प्रयोग अनि विश्वव्यापीकरणको प्रभावले हाम्रा अपेक्षाहरुको गति र हाम्रो बिकास र रुपान्तरणको गतिको बीच तालमेल नमिल्दा कताकति निराशा र आक्रोस पनि पोखिएका पाइन्छन ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा आशालाग्दा सुधारहरु सुरु भएका छन् भने यी क्षेत्रमा शृङ्गारिक् विकासलाई गुणात्मक बिकासमा रुपान्तरण गर्दै अझै सुधारहरु गर्नु जरुरी छ किन कि बिकास र रुपान्तरणमा फुलस्टप हुँदैन मात्र कमा हुन्छ ।
माडीको शिक्षामा हामी साँध जोडिएको विद्यालय संगको प्रतिपर्स्धालाइ आधार बनाएर म जुजुमान भन्दै जुगामा ताउ लगाउनेहरु आज माडी भित्रका पहेंला गाडीको आतंक देखि निकुञ्ज नै काटेर माडीका विद्यार्थी बोक्न आउने पहेंला र इभि आतंकसंग आमने सामने प्रतिस्पर्धा गर्नु पर्ने ठाँउ सम्म आइपुगेका छौं ।
स्वस्थ्य प्रतिस्पर्धाका हिसाबले त यो राम्रै होला तर निकुञ्ज पारीबाट विद्यार्थी बोक्न आउने सेता पहेला हात्ती दिर्घकालिन हिसाबले माडीको शिक्षामा आजको बास्तबिकता भन्दा माथिको उच्च पोखिएको चेतनाले बाल्ने राके जुलुस जस्तै हुँदैनन् भन्न सकिदैन ।
चेतनाले कोरेको सलाईको काँटिले पो अगेनामा आगो सल्काउछ र खाना पाक्छ, चेतनाहिन आवेग र कुण्ठाले बालेको सलाईको काँटीले समाजलाई नै जलाउने हो ।
माडीका विद्यार्थी र अभिभाबक पनि कहा पढने पढाउने भन्ने कुरामा स्वायत्त नै हुनुहुन्छ र त्यो अधिकारको प्रयोग गर्न उहाँहरुले पाउनुहुन्छ । तर आज आफ्नो स्वार्थ अधिकार प्रयोग गर्दा समग्र माडीको शिक्षामा के असर पर्छ भन्ने सोच्नु कर्तब्य पनि हो र यो कर्तब्य कति पुरा गरियो समयको मुल्यांकनले बताउछ ।
भरतपुर र माडीका शैक्षिक संस्थाहरुको बीच गुणस्तर दिने कुरामा खास धेरै भिन्नता छैन तर बर्गीय भिन्नता चरम छ । भरतपुरे शैक्षिक सस्थाहरु धनि छन्, सम्भ्रान्त छन् अनि चरम स्वार्थि पनि छन् हाम्रा माडीका शैक्षिक सस्थाहरुको तुलनामा । त्यसैले भोलि ठुलो माछाले सानो माछालाई कसरि खान्छ भन्नेमा आजै सचेत हुन् जरुरी छ । हामी अब त्यसको लागि पनि संस्थागत तयारी गर्नु छ ।
समाज बिकास र रुपान्तरणसंगै जति जति सुबिधा थपिदै जान्छन् उति उति जोखिमहरूपनि बढ्दै जानु स्वाभाविक हो । हामी माडीबासी जसको माडी बाहेकको बिकल्प छैन त्यसले नै हो अन्तिम लडाई लड्ने ।
लेखक : नारायण पौडेल
माडी, ३ बसन्तपुर