नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ४ विदेशी कमेन्टेटर भित्राएको छ ।
क्यानले शुक्रवार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत ४ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ । जसमा ३ कमेन्टेटर पहिलो सिजनकै दोहोरिएका छन् भने एउटा नयाँ कमेन्टेटर हुन् ।
अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आएका छन् ।
एन्ड्रयुसहित एचडी अकरम्यान, मिखाइल वासवानी र फजल आर खलीललाई क्यानले कमेन्ट्रीका लागि भित्राएको हो । एन्ड्रयु, अकरम्यान र मिखाइलले पहिलो एनपिएलमा कमेन्ट्री गरेका थिए ।
अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका छन् ।
मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुन् । यस्तै फजल भारतका पूर्व खेलाडी हुन् । उनले कर्नाटकबाट रन्जी ट्रफी खेलेका थिए । उनले फष्ट क्लास र लिष्ट ‘ए’ खेलमा समान २२ खेल खेलेका छन् ।