नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले देशमा हुनुपर्ने आगामी निर्वाचन केवल पुनःस्थापित प्रतिनिधिसभाबाट बनेको सरकारले नै गराउनुपर्ने बताएका छन्।
शनिबार एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा जनसरोकारको मुद्दालाई टेकेर अघि बढ्नुपर्नेमा जोड दिए।
उपाध्यक्ष बादलले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै, निर्धारित मितिभन्दा अघि स्थापित दलका नेताहरूलाई फसाएर मात्रै चुनाव गराउने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार यसका लागि विभिन्न षड्यन्त्र र भ्रामक गतिविधि सक्रिय छन्।
उनले संविधानले वर्जित व्यक्तिलाई विदेशी शक्ति र चापमा प्रधानमन्त्री बनाइएको आरोप लगाउँदै भने, “ठूलादलका नेताहरूलाई चुनावमा रोक लगाइयो भने—त्यही विदेशी शक्तिले सुशीला कार्कीलाई पनि हटाउनेछ।”
बादलका अनुसार फागुन २१ मा गरिन लागेको निर्वाचनलाई “प्रतिक्रान्ति वैधता दिने प्रयास” का रूपमा अगाडि बढाइएकाले स्थापित दलहरूले त्यसमा नफसिनु आवश्यक छ।
उनले भदौ २३ र २४ का घटनालाई ‘कलर रिभोलुसन’को आदिम रूपको रूपमा वर्णन गर्दै नेपाललाई विदेशले सैन्य प्रयोगस्थल बनाउने योजना अन्तर्गत केही तत्व सक्रिय रहेको आरोप लगाए। “नेपालका स्रोत–साधन कब्जा गर्ने, छिमेकी मुलुकमा अलगाववादी मनोवृत्ति फैलाउने ठूलो खेलको एउटा कडी नै भदौमा भएको गतिविधि हो,” बादलले भने।
त्यस्तै, उनले बालेन शाह र रवि लामिछानेलाई विदेशी शक्तिले “कठपुतली जेलेन्स्की” बनाउन खोजेको टिप्पणी गर्दै स्थापित दलहरू विभाजित नबने मात्र देशलाई अस्थिरताबाट जोगाउन सकिने बताए।