भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सृजित संरचना खरिद विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका नकारात्मक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
महानगरका अनुसार संघीय सरकारबाट प्राप्त १५ करोड रुपैयाँ सशर्त अनुदान भुक्तानी अघि कानुनी प्रक्रिया, मापदण्ड र औचित्य पूरा गर्नुपर्ने भएकाले हाल विभिन्न निकाय, कानुनविद् तथा विज्ञसँग परामर्श जारी छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको संरचना सरकारी कोषबाट खरिद गर्ने स्पष्ट कानुनी आधार नखुलेकाले अतिरिक्त निर्देशनका लागि संघीय सरकारसँग पत्राचार गरिएको महानगरले जनाएको छ।
महानगरले निर्णय प्रक्रियामा संलग्न कर्मचारी र जनप्रतिनिधि भविष्यमा कानुनी जटिलतामा नपर्ने गरी समाधान खोजिरहेको बताउँदै भावनात्मक दवाव होइन, वैधानिक प्रक्रियाद्वारा मात्र काम अघि बढ्ने स्पष्ट गरेको छ।
यस विषयमा पूर्वाग्रहयुक्त टिप्पणी नगर्न महानगरले सबैलाई आग्रह गरेको छ।

