भरतपुर १२ स्थित एपोलो डेन्टल अस्पतालले बिग्रिएका तथा छिद्र दाँतका समस्या भएका बिरामीका लागि आधुनिक प्रविधिबाट दाँत सोझ्याउने सेवा सर्वसुलभ लागतमा उपलब्ध गराउँदै आएको छ।
कन्सल्टेन्ट अर्थोडन्टिस्ट डा. बासुराज पाण्डेका अनुसार अत्यधिक बिग्रिएका दाँत मिलाउन न्युनतम ८० हजारदेखि २ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ ।
दाँत मिलाउन प्रयोग गरिने अलाइनर मध्ये एकपटकको उपचारमा करिब १२ वटा अलाइनर आवश्यक पर्छन् । अलाइनर खाना खाने समयमा मात्र निकाल्नुपर्छ, बाँकी समयमा निरन्तर प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
डा. पाण्डेका अनुसार दाँत नमिलेका कारण धेरै बिरामीहरू चपाउन असहज हुने, यहाँसम्म कि कानको जोर्नीमा समेत दुखाइ लिएर अस्पताल आउने गरेका छन्। दाँतको अवस्था अनुसार रिमुभेबल तथा फिक्स्ड ब्रेसेज प्रयोग गरेर उपचार गरिन्छ। फिक्स्ड ब्रेसेजमा मेटल ब्रेसेज, दाँतको रङसँग मिल्ने सेरामिक ब्रेसेज, तथा दाँतको पछाडिबाट राखिने लिंगुअल ब्रेसेज जस्ता विकल्प उपलब्ध छन्।
यदि दाँत अत्यधिक बांगोटिंगो भएमा अर्थोग्न्याथिक सर्जरी समेत आवश्यक पर्न सक्ने डा. पाण्डेको भनाइ छ ।
दाँत नमिल्दा अनुहारको सौन्दर्यमा प्रतिकूल असर पर्ने र कहिलेकाहीँ अनुहार हल्का बाङ्गिएको देखिने समस्या समेत उत्पन्न हुने भएकाले, किशोरावस्थामा प्रवेश गर्नु अघि नै दाँत मिलाउने उपचार सुरु गर्न विशेषज्ञले सुझाव दिने गरेका छन्। ढिलो उमेरमा पनि दाँत मिलाउन सकिने भए पनि, दाँतको गडबडीले बाङ्गिएको हड्डी भने मिलाउन नसकिने बताउनुभयो ।
अस्पतालले समयमै उपचार गराए दाँतका समस्या मात्र होइन, दीर्घकालीन जटिलता पनि टार्न सकिने बताएको छ।

