नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ।
युवा संघको आज हुने कार्यक्रमका लागि सुनसरी जाँदै गरेका बस्नेत चढेको वाहनलाई विराटनगर विमानस्थलनजिक दुई जनाले रातो मसी छ्यापेर विरोध जनाएका थिए।
विमानस्थलबाट बाहिर निस्कँदै गर्दा गेटनजिकै बस्नेतसहितको टोलीलाई लक्षित गर्दै जेन–जी आन्दोलनमा संलग्न दुई युवाले मसी प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेकामा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन्।
पक्राउ परेका सञ्जोग गौतमका अनुसार जेन–जी आन्दोलनका क्रममा ‘मारिएका युवाहरूको न्यायको पक्षमा भन्दा एमालेको भूमिका आन्दोलनविरुद्ध देखिएको’ आरोपसहित सांकेतिक रूपमा मसी छ्यापिएको हो।
“हामीले उहाँको कार्यक्रम रोक्न खोजेको होइन, केवल सांकेतिक विरोधमार्फत सचेत गराउन खोजेका थियौँ,” गौतमले भने, “तर प्रहरीले हामीलाई धरपकड गर्यो।” घटनापछि बस्नेतको सुरक्षा कडा गरिएको प्रहरी स्रोतले जनाएको छ।

