पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ठेक्का लिएको तुँदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डमा पाइलिङ तयारीसहितका काम अघि बढाएको प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले जानकारी दिनुभयो ।
झन्डै १ अर्ब ६८ करोड लागतमा ३६ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। प्राकृतिक प्रकोप नआए यस वर्ष २५–३० प्रतिशत फाउण्डेशन र सब–स्ट्रक्चरको काम सकिने कम्पनीले जनाएको छ।
४२० मिटर लम्बाइ र ११ मिटर चौडाइ हुने अत्याधुनिक प्रविधियुक्त दुई लेनको यो पुलमा आर्चब्रिज, केबल नेटवर्किङ, सस्पेन्सन संरचना र साइकल लेन रहनेछ। साथै, पानी जहाज सञ्चालन गर्न मिल्ने गरी दुई ठाउँमा टावर समेत बन्नेछ।
२०३८ सालमा बनेको हालको पुल जिर्ण बन्दै गएपछि दीर्घकालीन आवश्यकताका लागि नयाँ पुल निर्माण थालिएको हो। पुलको शिलान्यास २०८१ बैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।
