नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन पुस अन्तिममा गर्ने तयारी गरेको छ ।
पार्टीले आगामी पुस २६ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन लागेको हो । आइतबार कार्यवाहक सभापति खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा मीन विश्वकर्मालगायत नेताहरू बसेर कार्यतालिका ल्याउने तयारी भएको हो ।
यसैबीच, कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका हुन् ।
ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठकमार्फत महाधिवेशनको कार्यतालिका तोक्न नसक्नु दुःखद भएको बताउँदै उनीहरूले असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

