राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।”
अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
