पोल्यान्डको वार्सामा द ब्रदरहुड (The Brotherhood) द्वारा आयोजित ‘सातौँ स्वर्गीय राजा वीरेन्द्र स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता’ सम्पन्न भएको छ।
डिसेम्बर २५ का दिन आयोजित उक्त खेलकुद कार्यक्रममा प्रवासमा रहेका नेपाली खेलाडी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको समुद्घाटन तथा पुरस्कार वितरण समारोहमा नेपालका लागि पोल्यान्डका अवैतनिक वाणिज्य दूत डा. बोधराज सुवेदी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (NRNA) पोल्यान्डका निवर्तमान अध्यक्ष रिता न्यौपाने र अतिथिका रूपमा इनास पोल्यान्डका अध्यक्ष तुलसा पोखरेल को उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले खेलकुदको माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए।
मैदानमा भएको कडा प्रतिस्पर्धाका बीच विभिन्न टिमहरूले आफ्नो कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताको नतिजा यस प्रकार रह्यो:
प्रथम स्थान: होमिज एफसी (HOMIES FC) – उत्कृष्ट खेल प्रदर्शन गर्दै यस वर्षको उपाधि चुम्न सफल भएका छन् ।
यसैगरी द्वितीय स्थान: लालिगुराँस एफसी, फिनल्यान्ड (LALIGURASH FC FINLAND) – छिमेकी देशबाट सहभागी भई उपविजेता बन्न सफल भए ।
तृतीय स्थान: एनएफसी वोज (NFC ŁODZ) – कडा प्रतिस्पर्धाका बीच तेस्रो स्थान सुरक्षित स्थान हात पारेका छन् । प्रवासमा रहेर पनि नेपाली खेलकुद र गौरवलाई जीवित राख्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले नेपाली युवाहरूबीच भाइचारा, अनुशासन र एकताको बलियो सन्देश प्रवाह गरेको छ। “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि पहिचान” भन्ने भावनालाई आत्मसाथ गर्दै आयोजक ‘द ब्रदरहुड’ ले विगत सात वर्षदेखि यो परम्परालाई निरन्तरता दिँदै आएको छ।
विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।

