ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ ।
आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउनुभयो ।
उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।
मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”
उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।” कार्यक्रममा उहाँले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पार्नुभयो ।

