नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको बैठक माडी ६ स्थित कर्णबहादुर घर्ती प्रतिष्ठानमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस माडी नगर कार्यसमितिले आयोजना गरेको सो कार्यक्रममा जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षता र केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा माडीमा भएका बिकासका सम्भावना, यसअघिका निर्वाचनमा कांग्रेसका उम्मेदवारले उठाएका अधुरा प्रतिबद्धता, ४६ साल यताका कांग्रेसका कार्ययोजना र आगामी योजना बारेमा छलफल गरिएको कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै न्यौपानेले शिक्षा, स्वास्थ लगायतका विषयमा पनि छलफल भएको तर आसन्न निर्वाचन लक्षित कार्यक्रम नभएकाले उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा कुराकानी नभएको बताउनुभयो । केन्द्रबाट नै उम्मेदवारको टुंगो लाग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला उपसभापति राजिब न्यौपाने र शालिग्राम पौडेल, बागती प्रदेशका पूर्व स्वास्थमन्त्री उत्तम जोशी लगायतका नेताहरू वक्ताको रूपमा रहनुभएको थियो ।
कार्यक्रममा माडीका नौ वटा वडाका सभापति, प्रदेश, जिल्ला र क्षेत्रीय सभापति सहित कांग्रेसका विभिन्न नेताहरुको उपस्थिति थियो ।

