नारायणी नदीकिनारमा आयोजना गरिएको चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र पारिएको छ ।
गैँडाकोट नगरलाई उद्योग, व्यापार, पर्यटन र संस्कृतिसहितका सम्भावनाहरुको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यसहित यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको हो ।
महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटले जानकारी दिएको छ ।
महोत्सवका संयोजक छविलाल कँडेलका अनुसार महोत्सवमा करिब २५० व्यावसायिक कक्ष रहने छन् । दुई हप्तासम्म चल्ने महोत्सवबाट करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब २५ करोड कारोबार हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो ।
अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोबाइल–इलेक्ट्रोनिक्स, निर्माण सामग्री, हस्तकला, कृषि तथा जडीबुटी, पर्यटन, तयारी पोसाक, जुत्ता–चप्पलदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामग्री प्रदर्शनमा राखिने छन् । घरेलु, साना, मझौला तथा ठूला उद्योगसँगै बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत विशेष सहभागिता रहने आयोजकले जनाएको छ ।
‘महोत्सवले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, किराना, कृषि उत्पादन, हस्तकला तथा साना उद्यमहरुको व्यापारमा प्रत्यक्ष वृद्धि गर्नेछ’, कँडेलले भन्नुभयो, ‘यसले स्थानीयस्तरमा व्यापारसँगै रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनमा समेत योगदान पुराउन सक्छ ।’
त्यतिमात्र नभई गैँडाकोट क्षेत्रमा हुने मेला–महोत्सवले समग्र गैँडाकोट नगर क्षेत्रकै आर्थिक अवस्थालाई चलायमान बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । महोत्सवलाई यसवर्ष थप व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि चार भागमा विभाजन गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान र खानपान क्षेत्रलाई छुट्टाछुट्टै तरिकाले व्यवस्थापन गरिने महोत्सवका संयोजक कँडेलले जानकारी दिनुभयो ।
राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, फेसन शो, विद्यालय तथा विभिन्न कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यानमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेल, जलपरी, माछाका एक्वेरियम र ओपेरा हाउस जस्ता आकर्षणहरुले महोत्सवलाई परिवारमै रमाउने केन्द्रका रुपमा प्रस्तुत गर्ने तयारी गरिएको महोत्सवका प्रचारप्रसार संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवको प्रवेशद्वारलाई कलात्मक शैलीमा निर्माण गर्ने तयारी गरिएको छ । गैडाकोट क्षेत्रमा रहेर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सहकारी र संघसंस्थालाई समेत महोत्सवमार्फत प्रबद्र्धन गरिने उहाँले बताउनुभयो ।
महोत्सवले उपभोक्ता र उत्पादकलाई प्रत्यक्षरुपमा एकै स्थानमा भेट गराउने अवसर प्रदान गर्ने हुँदा औद्योगिक तथा व्यापारिक गतिविधिको केन्द्रको रुपमा समेत विकसित गर्ने लक्ष्य लिइएको उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव तेजनारायण पाण्डेले बताउनुभयो । नयाँ प्रविधि, लगानी र उत्पादनसम्बन्धी जानकारी आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशको सामाजिक, प्राकृतिक, सांस्कृतिक एवम् आर्थिक विविधताको प्रवेशद्वार मानिने गैँडाकोट पछिल्लो समय फस्टाउँदै गरेको तीव्र औद्योगीकरण, पर्यटन वृद्धि र व्यापारिक गतिविधिका कारण प्रदेशकै आकर्षक नगरका रुपमा उदाउँदै गएको छ ।
त्यसका साथै नारायणी नदीकिनारको सुन्दर काखमा महोत्सव आयोजना गरिँदा धार्मिक एवम् सांस्कृतिक हिसाबले पनि सकारात्मक मानिने हुँदा यसले समाजमा सकारात्मक प्रभाव पार्दै आएको आयोजकको दाबी छ ।

