चितवनको रत्ननगर नगरपालिकामा आगामी पौष २५ देखि माघ ६ गतेसम्म १३औँ संस्करणको रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा र नगरपालिकाको संरक्षकत्वमा टिकौली चौरमा महोत्सव सञ्चालन गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
“रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान” भन्ने नारासहित आयोजना हुने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, संस्कृति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब ४५० स्टल रहनेछन्। महोत्सवमा ४ लाखभन्दा बढी दर्शक सहभागी हुने र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ।
यस वर्ष महोत्सवमा कृषि प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह तथा रैथाने बालीको प्रदर्शनीसँगै दोस्रो चितवन मह उत्सव २०८२ पनि आयोजना गरिनेछ। साथै युवालाई लक्षित गर्दै रोजगार मेला सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवको आकर्षणका रूपमा रामजानकी मन्दिरको आकृतियुक्त मुख्य गेट, विभिन्न जातजातिका परम्परागत संस्कृति घर, फनपार्क, सांस्कृतिक खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति र शोभायात्रा रहनेछन्। सुरक्षाका लागि अत्याधुनिक CCTV र ५ करोड रुपैयाँ बराबरको बीमा व्यवस्था गरिएको छ।
महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि ८० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र एकल महिलालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

