पछिल्लो केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएपछि भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार पौष १६ गते भरतपुर महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू (पूर्वप्राथमिक तथा मन्टेश्वरी विद्यालय समेत) बन्द गर्न आह्वान गरेको हो ।
बालबालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा चिसोका कारण समस्या उत्पन्न भएको भन्दै अभिभावक, विद्यालय तथा सरोकारवालाहरूबाट आएको सुझावका आधारमा उक्त निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
यस अवधिमा अभिभावकहरूलाई आफ्ना बालबालिकालाई चिसोबाट जोगाउन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ भने विद्यालयहरूलाई समेत विद्यार्थीहरूलाई सोहीअनुसार निर्देशन दिन आग्रह गरिएको छ।
सूचना भरतपुर महानगरपालिकाका उपसचिव सुवास चन्द्र आचार्यद्वारा जारी गरिएको हो।

