चितवनमा अत्यधिक चिसो बढेपछि भरतपुर विमानस्थल चार दिनदेखि ठप्प छ ।
भरतपुर विमानस्थलका अनुसार आज (मंगलबार)को चितवनको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।
शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने आइतबार १३ डिग्री र सोमबारको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । विमान उडानका लागि मौषम सफा नभएपछि शनिबारदेखि नै उडान ठप्प रहेको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत भुवल थापाले जानकारी दिनुभयो ।
‘लगातार चारदिनदेखि उडानका लागि चाहिने भिजिविलिटी पुगेको छैन, निरन्तर विमानस्थल बन्द नै छ’–थापाले भन्नुभयो ।
उहाँका अनुसार विमान उडानका लागि न्यूनतम भिजिविलिटी ५ हजार मिटर आवश्यक हुन्छ । बादलको उचाई भने १५ सय फिट भन्दा माथि हुनुपर्छ । ‘हवाई उडानका लागि भिजिविलिटी र बादलको उचाई दुवै मापदण्ड पुगेको हुनुपर्छ, एउटा मात्रै पुगेर जहाज उडाउन सकिदैन’ वरिष्ठ अधिकृत थापाले भन्नुभयो ।
भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । विमान उडान हुन नसक्दा यात्रुको टिकट रकम फिर्ता (रिफन्ड) गर्न थालिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले बताए ।
‘लगातार चार दिन उडान हुन सक्दा कतिपयको टिकट रकम फिर्ता गरिरहेका छौं, कतिपयले टिकट पछाडीका लागि सार्नु भएको छ’–बस्नेतले भन्नुभयो ।
भरतपुर विमानस्थल हुँदै दैनिक ५ सय भन्दा बढी यात्रुहरु चितवन–काठमाडौं आवातजावत गर्दै आइरहेका छन् । अहिले उडान ठप्प हुँदा विमानस्थल सुनसान बनेको छ । हवाइ जहाज मार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६१५ रुपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७१५ रुपैयाँ टिकट शुल्क रहेको छ ।

