राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार कास्की जिल्ला अदालतमा उपस्थित भएर तारेख बुझेका छन्।
Advertisement
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा उनी अदालतमा हाजिर भएका हुन्।
यसअघि नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि पुस ९ गते पनि उनले कास्की अदालतमा तारेख बुझेका थिए। उच्च अदालत बुटवलको आदेशअनुसार बिगो बराबर धरौटी बुझाएर उनी रिहा भएका हुन्।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
सहकारी ठगीतर्फ ३ करोड ३७ लाख रुपैयाँ र सम्पत्ति शुद्धिकरणतर्फ २७ करोड ८९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। उक्त मुद्दा हाल कास्की जिल्ला अदालतमा विचाराधीन छ।

