चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा केएफसीको २५औं शाखा संचालनमा आएको छ ।
आज (बुधबार) दिउँसो इ–स्टपका अध्यक्ष राजन रायमाझीले रिवन काटेर विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीको ‘प्रिमियम’ आउटलेट शुभारम्भ गर्नुभयो ।
समुद्घाटन समारोहमा केएफसीका कन्ट्री म्यानेजर विजय शर्मालगायतको उपस्थिति रहेको थियो । यो शाखालाई नेपालकै पहिलो ‘ग्रिन स्टोर’को रुपमा अघि बढाइएको केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरण संरक्षण र ऊर्जा दक्षतालाई मुख्य प्राथमिकतामा राखेर यो आउटलेट डिजाइन गरिएको हो । भविष्यमा केएफसीसंगै रहेको इ–स्टप चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको व्यवस्था मिलाइने गरि तयारी समेत भइरहेको शाहले बताउनुभयो ।
जग्गा भाडामा लिई ५ करोड भन्दा बढी लगानीमा यो आउटलेट निर्माण गरिएको सिएफओ शाहले बताउनुभयो । उहाँले विदेशमा धेरै राजमार्ग छेउछउमा केएफसी हुने गरेको भन्दै सोही अनुसार चितवनको कुरिनटारलाई छनोट गरिएको बताए ।
योसंगै चितवनमा केएफसीको चितवनमा दुई वटा शाखा पुगेको छ । कम्पनीले सन् २०२५ भित्रमा २५ वटा शाखा खोल्ने लक्ष्य लिएको थियो । यो वर्ष ७ वटा शाखा खोल्दै २५ वटा पुर्याउने लक्ष्य पूरा गरेको छ । यो शाखामा रहेका १६ जना कर्मचारी सबै महिला छन् ।

