चितवनका सक्रिय राजनीतिक व्यक्तित्व इश्वरी प्रसाद कंडेलले पछिल्लो निर्वाचन परिणामलाई लिएर नेपाली कांग्रेसको नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
उनले पार्टीले सिद्धान्त र विधानविपरीत काम गर्दै व्यक्तिगत स्वार्थमा केन्द्रित भएको कारण वर्तमान अवस्था व्यहोर्नुपरेको टिप्पणी गरे।
उनले वर्तमान सरकारको नेतृत्व गरिरहेकी सुशीला कार्की प्रति समयमै निर्वाचन गराएको भन्दै धन्यवाद व्यक्त गरे पनि कार्यकालको अन्त्यतिर केही विवादास्पद निर्णयले सरकारमाथि “दाग लागेको” आरोप लगाए। कंडेलका अनुसार सरकारको समग्र काम सकारात्मक भए पनि अन्तिम चरणका निर्णयले जनविश्वासमा प्रश्न उठाएको छ।
कांग्रेसले बिपी कोइरालाको सिद्धान्त र मार्गदर्शनअनुसार अघि बढ्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, “विपीको विचारबाट विचलित हुँदा पार्टीभित्र आदर्श र मूल्य कमजोर बन्दै गएको छ, जसले समग्र पार्टीलाई कमजोर बनाएको छ।”
त्यस्तै, उनले अब बन्ने सम्भावित सरकारप्रति अपेक्षा राख्दै बालेन्द्र शाहको नेतृत्वमा स्थायित्व, सुशासन र विकास सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे। उनले विधिको शासनलाई प्राथमिकता दिन र जनमतको सम्मान गर्न आग्रह गर्दै जनताको मतको अवमूल्यन भए देश पुनः अस्थिरतामा जान सक्ने चेतावनी दिए।
कंडेलले नेपाली कांग्रेसको वर्तमान कमजोर अवस्थाका लागि पार्टी सभापति शेरबहादुर देउवा लाई मुख्य रूपमा जिम्मेवार ठहर गरे। उनले देउवामाथि गुट–उपगुटको राजनीति बढाएको, व्यक्तिगत असन्तुष्टिका कारण पार्टीलाई क्षति पुर्याएको आरोप लगाए।
“टिकट नपाएको र महाधिवेशनबाट बाहिरिनुपरेको रिसले पार्टीको अस्तित्व नै धरापमा परेको छ,” उनले भने।
उनले देउवाको भूमिकामाथि प्रश्न उठाउँदै भने, “अभिभावकको हैसियतमा आफ्ना उम्मेदवारका लागि खुलेर भोट माग्नुपर्नेमा किन चुप लागेर बाहिर जानुभयो?”
चितवनमा परिचित नाम ईश्वरी प्रसाद कंडेल वि.स. २०२८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले २०३५ सालमा नगर पञ्चायतमा खरीदार पदमा जागिर सुरु गरेका थिए र लेखा शाखाको प्रमुख समेत बनेका थिए। सो समयमा भ्रष्टाचारविरुद्ध आवाज उठाएका कारण उनलाई राजीनामा दिन बाध्य पारिएको थियो।
पछि २०४९ सालमा पुनः सोही सेवामा फर्किएका कंडेल २०७० सालमा अवकाश प्राप्त गरेका हुन्। लामो राजनीतिक र प्रशासनिक अनुभव बोकेका कंडेलले अहिलेको अवस्थाबाट पाठ सिक्दै पार्टी र देश दुवैले सही दिशा समात्नुपर्नेमा जोड दिएका छन्।
