समृद्धिका लागि युवा अभियान माडीले मध्यवर्ती क्षेत्रको निर्वाचन प्रक्रिया तत्काल रोक्न चेतावनी दिएको छ। अभियानले यदि पुरानै प्रणालीअनुसार निर्वाचन अगाडि बढाइए प्रतिरोधमा उत्रने स्पष्ट पारेको छ।
अभियानले आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थासम्बन्धी विद्यमान प्रावधानहरू यथावत् रहेको अवस्थामा निर्वाचनसम्बन्धी गतिविधि सुरु गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वर्तमान परिस्थितिमा निर्वाचन गराउनु जनविरोधी तथा माडीको दीर्घकालीन हितविपरीत हुने निष्कर्षमा पुगेको अभियानको भनाइ छ। माडीभित्र रहेका सम्पूर्ण राजनीतिक दल, स्थानीय सरकार, बुद्धिजीवी वर्ग तथा आम नागरिकलाई निर्वाचनको सशक्त बहिष्कार गर्न आह्वान गर्दै समग्र क्षेत्रको हितका लागि एकजुट हुन अनुरोध गरिएको छ।
त्यसैगरी, देशमा भइरहेको नयाँ राजनीतिक परिवर्तनको सन्दर्भ उल्लेख गर्दै अभियानले नयाँ सरकारको स्पष्ट धारणा नआएसम्म तथा झण्डै दुई तिहाइको सरकार र यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको दृष्टिकोण स्पष्ट नभएसम्म आगामी निर्वाचनबारे कुनै निर्णयमा नपुगिने जनाएको छ।
अभियानले परिस्थितिको समग्र मूल्याङ्कनपछि मात्र आगामी कदम तय गरिने स्पष्ट पारेको छ।
