गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।
गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।
हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतिकका रूपमा हनुमानलाई पुज्ने गरिन्छ । देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गर्छन् भने भक्तजनहरू बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ ।
आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठुलो भीड लागेको थियो । सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने मन्दिर परिसर व्यवस्थित र अनुशासित देखिएको थियो । गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।
