देशभर सञ्चालन भइरहेको राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत माडी नगरपालिकामा पनि आज (वैशाख ६) र भोलि (वैशाख ७) बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाविरुद्धको औषधि खुवाउने अभियान सुरु गरिएको छ।
माडीका ९ वटै वडामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ भने १२ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई जुकाको औषधि प्रदान गरिँदैछ।
स्वास्थ्यकर्मीका अनुसार यी पोषणसम्बन्धी औषधिले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस अभियानमा छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गरी एक हप्तासम्म औषधि खुवाउन सकिने व्यवस्था गरिएको छ।
सरकारले प्रत्येक आर्थिक वर्षमा दुई चरणमा—पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते—देशभर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
