नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पार्टीको शुुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उहाँले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
महामन्त्री शर्माले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राख्नुभयो ।
“मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न सङ्घले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री घिमिरेले कांग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुरहेको उल्लेख गर्नुभयो ।
उहाँले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउनेगरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताउनुभयो ।
पार्टीका सहमहामन्त्री एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले व्यवसायविना राजनीति र समाजसेवा हुन नसक्ने धारणा राख्नुभयो ।
