नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पूनः निर्माण गर्न लागिएको छ ।
सूनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पुराएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न लाग्नुभएको हो ।
शाक्यका अनुसार यहाँको चौतारा र मूर्ति मर्मतका लागि ३५ लाख रुपैयाँ लगानी लाग्नेछ । यहाँ जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति छ ।
२०७० सालमा निर्माण गरिएको मूर्ति नारायाणीमा पटक पटक आउने बढीले क्षती पुराउदै आएको थियो । भत्किएको ठाउँमा प्लाष्टर र रंग रोगन गरिएको उहाँले बताउनुभयो । नारायणी नदी घुम्न आउने मानिसहरुले यहाँ फोटो, भिडियो खिच्ने र चौतारामा शितलता प्राप्त गर्ने गर्दछन् ।
यहाँ शाक्यले एक दशक अगाडि एक करोड १० लाख लगानीमा सो संरचना बनाएका थिए । मूर्तिको लागि मात्रै ४० लाख रुपैयाँ खर्चिएको व्यवसायी शाक्यले बताउनुभयो । गत वर्षको बाढी पहिरोले बगाएर ल्याएका ठुला ठुला ढुंगामा बृद्ध, मायाँदेवी र बृद्धत्व प्राप्त पछि लावालस्कर गरेर दरबारमा स्वागत गर्दाको कलात्मक आकृति कुँदिएको चित्र बनाइएको छ । त्यसैगरी अहिले यहाँ चौतारा प्रवेश गर्ने ठाउँमा भगवान गणेश, स्वस्तिक, शंक र ॐ को आकृति कुँदिएको छ ।
