नेपाल पत्रकार महासंघ जिल्ला शाखा, चितवनको २२औँ साधारणसभा आज भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा सम्पन्न भएको छ।
महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष आचार्यले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको टिप्पणी गर्नुभयो।
उहाँले निजी सञ्चार माध्यमहरूलाई विज्ञापनमार्फत दबाब दिने प्रयास भइरहेको आरोप लगाउँदै यसले पत्रकारहरूको अधिकार कुण्ठित बनाएको उल्लेख गर्नुभयो। साथै, देशका विभिन्न परिवर्तनकारी आन्दोलनहरूमा पत्रकारहरूले खेलेको योगदानको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
साधारणसभाका अवसरमा पत्रकारहरू अनिल ढकाल, पूजा ढकाल र दिप्ती विश्वकर्मालाई सम्मान गरिएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।