राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भरतपुर–१ स्थित वागीश्वरीमा श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको छ ।
नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बिहीबार दिप प्रज्वलन गरी महायज्ञको उद्घाटन गरेका हुन् । महायज्ञ संयोजक प्रेमनिधी भारद्धाज, प्रमुख संरक्षक योगी श्रीषनाथ र संरक्षक योगी बलभद्रनाथ लगायतको उपस्थितीमा महायज्ञको उद्घाटन भएको हो ।
महायज्ञको उद्घाटन गर्दै ज्ञानानन्द सरस्वतीले साङ्ग–कोटिहोम महान यज्ञ भएको हुनाले सबैले आआफ्नो ठाउँबाट सहयोग गरी यज्ञ सफल पार्न आग्रह गरे । उद्घाटन समारोहमा वागीश्वरीका केन्द्रीय सदस्य एवम् युवा राजनीतिज्ञ कैलाश कोइरालाद्धारा लिखित कविता संग्रह ‘कल्की’को विमोचन गरिएको थियो । उक्त पुस्तकमाथि उदयराज अधिकारीले टिप्पणी गरेका थिए ।
महायज्ञमा दैलेखेको ज्वालादेवी मन्दिरको अग्नी, काठमाडौँ मृगस्थलीस्थित गोरखनाथ धुनीको अग्नी, दाङको रतननाथ मठको अग्नी र गोरखा गोरखनाथ गुफास्थित धुनीको अग्नीसहित हवन मण्डपमा अरणी मन्थन गरी निकालिएको अग्नीबाट हवन अग्नी स्थापना गरिएको छ ।
५९ दिनसम्म चल्ने महायज्ञको उद्घाटनअघि कलशयात्रा गरिएको थियो । गण्डकी नारायणी महाआरती स्थलबाट वागीश्वरी मन्दिरसम्म कलशयात्रा गरिएको हो । कलशयात्रा सुरु गर्नुअघि गंगा पुजन गरिएको थियो ।
बिहीबार गंगा अवतरण भएको दिन पनि थियो ।
कलशयात्राले वागीश्वरी मन्दिर र गौशालाको परिक्रमा गरेको थियो । आज (शुक्रबार) गोरखनाथ जयन्ती तथा बुद्ध जयन्तीको दिनबाट महायज्ञ औपचारीक रुपमा यज्ञ सञ्चालन हुँदै छ ।
वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो । महायज्ञका संयोजक प्रेमनीधि भारद्धाजले योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्प अनुसार महायज्ञ गरिएको बताए । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पुरा हुन पाएको थिएन ।
महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पुजन गरिनेछ । महायज्ञको लागि नेपाली सेनाले समेत हवन सामाग्री उपलब्ध गराएको उनले जानकारी दिए ।