भरतपुरमा सञ्चालन गरिएको निःशुल्क कपडा सहयोग अभियानबाट हालसम्म हजारौं नागरिक लाभान्वित भएका छन्।
२०८२ वैशाख १९ गते (बुद्ध जयन्ती) देखि सुरु गरिएको उक्त अभियान अन्तर्गत मौसम अनुसारका कपडा, जुत्ता तथा झोलाहरू वितरण गरिएको जनाइएको छ। अभियानमा हालसम्म ५४७ जना सहयोगदाताबाट ६ हजारभन्दा बढी कपडा संकलन भएको छ।
चितवनसहित लमजुङ, गोरखा, काठमाडौंलगायत जिल्लाबाट समेत सहयोग प्राप्त भएको होटल सिएमटीका प्रबन्ध निर्देशक एवं चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो।
यस अभियानबाट हालसम्म २ हजार ४३५ जना लाभान्वित भएका छन्। मजदुरी गर्न चितवन आउने व्यक्तिहरू, उपचारका लागि आउने बिरामी तथा इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय मुख्य रूपमा लाभान्वित भएका छन्।
अभियानले विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग पुर्याउँदै सामाजिक सहकार्यको उदाहरण प्रस्तुत गरेको घिमिरेले बताउनुभयो।