गैंडाकोटस्थित भृकुटी कागज कारखानाको व्यवस्थापन सुधार तथा श्रमिकहरूको बक्यौता पारिश्रमिक भुक्तानीको माग गर्दै बालेन्द्र शाहलाई ज्ञापन पत्र बुझाइएको छ।
‘सफा, सुन्दर, हरियाली गैंडाकोट’ अभियानको पहलमा प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको उक्त ज्ञापनमा कारखानामा कार्यरत ३३३ जना श्रमिकको करिब ४० करोड रुपैयाँ बक्यौता तत्काल भुक्तानी गर्न माग गरिएको छ। साथै, कारखानासँग सम्बन्धित करिब ६० बिघा जग्गाको उपयोगबारे स्पष्ट र दीर्घकालीन योजना सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।
ज्ञापन पत्रमा वि.सं. २०६७ सालदेखि बन्द रहेको कारखाना हाल जीर्ण अवस्थामा पुगेको उल्लेख गर्दै श्रमिकहरू लामो समयदेखि पारिश्रमिक नपाउँदा आर्थिक तथा सामाजिक समस्यामा परेको जनाइएको छ।
अभियानले सरकारलाई पाँच दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिइएको छ।
