माउण्ट एभरेष्ट ब्रुअरी प्रालिका सञ्चालकहरू लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै मजदुर तथा कर्मचारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भरतपुर–१२ मा रहेको उद्योगका सञ्चालक पियुषबहादुर अमात्य, डा. दमनबहादुर अमात्य, हिरेन्द्रबहादुर अमात्य र विनोदबहादुर अमात्य सम्पर्कमा नआएको उनीहरूको भनाइ छ।
मजदुरका अनुसार २०७९ साल कार्तिकदेखि हालसम्म पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराइएको छैन। श्रम कार्यालय र श्रम अदालतबाट आफूहरूको पक्षमा फैसला भए पनि कम्पनीले कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।
कम्पनीले सरकारलाई राजश्व, नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल तथा मजदुरलाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको दाबी गरिएको छ। स्थानीय बजारमा समेत विभिन्न आर्थिक दायित्व अपूरो रहेको बताइएको छ।
लामो समयदेखि पारिश्रमिक नपाउँदा मजदुरहरू आर्थिक र मानसिक समस्यामा परेको, उपचार अभावका कारण केहीले ज्यानसमेत गुमाएको दाबी गरिएको छ। पीडितहरूले जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। साथै आफ्नो आवाज सम्बन्धित निकायसम्म पुर्याइदिन सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
